प्रहरी महानिरीक्षक खनालद्वारा नव निर्मित प्रहरी भवनको उद्‌घाटन

संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही भाद्र ०३ गते संघीय प्रहरी इकाई कार्यालय पोखराको नव-निर्मित प्रहरी भवनको एक कार्यक्रमका बिच उद्‌घाटन गर्नुका साथै सोहि कार्यालयकै परिसर भित्र निर्माण हुन लागेको प्रहरी व्यारेक भवनको समेत शिलान्यास गर्नु भएको छ ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको उक्त प्रहरी भवनको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलालेख अनावरण साथै मुख्य प्रवेश द्वारमा रिवन काटी उक्त भवनको उद्‍घाटन गर्नुभएको हो भने नयाँ निर्माण हुन लागेको प्रहरी ब्यारेक भवनको जगमा ईट्टा राखी शिलान्यास गर्नुभयो ।

उद्‍घाटन एवं शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी महानिरीक्षक खनालले देश भित्र व्याप्त विकृती विसंगतिको न्यूनिकरण गरी दण्डहिनताको अन्त्य गर्दै नेपाल प्रहरी संगठनले आफूलाई दक्षिण एसिया कै अब्बल प्रहरी संगठनका रुपमा उभ्याउन सफल भएको बताउनुभएको छ ।

साथै नागरिक र प्रहरी बिचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन अंगिकार गरिएको समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत हाल देश भरी नै बालबालिका देखी अभिभावकसम्म सबैलाई समेट्ने गरी विभिन्न सचेतनामुलक कार्यक्रमहरु भईरहेको बताउँदै यसलाई सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताउनुभयो ।

फरक प्रसंङमा बोल्दै प्रहरी महानिरीक्षक खनालले समाजको शान्ति सुरक्षामा खलल पुर्‍याउने जुनसुकै गतिविधि माथि भने प्रहरी आक्रमक रुपले प्रस्तुत भई विवेकपूर्ण कानूनी कठोरताको नीति अपनाईने बताउँदै प्रहरी कार्यालयलाई आम नागरिकको आस्था र भरोसाको केन्द्रका रुपमा स्थापित गर्न प्रहरी हरदम तत्पर रहेको स्पष्ट पार्नुभएको छ । 

कार्यक्रममा धन्यबाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी महानिरीक्षकको संगठन प्रतिको भावना र मर्म अनुरुप नै निरन्तर संगठनको शुद्धिकरण, सुदृढिकरण र व्यवसायिक निष्ठायुक्त प्रहरी सेवा प्रवाहमा आफूहरु उन्मुख रहेको बताउँदै प्रहरीले लगाएको निलो बर्दि प्रहरी पोसाक मात्र नभई जनताको अस्था, विश्वास एवं भरोसाको धरोहर समेत रहेकाले प्रहरी प्रतिको यस विश्वासलाई बरकरार राख्न आफूहरु तत्पर रहेको बताउनुभयो । 

कार्यक्रममा भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका TST प्रमुख प्रहरी निरीक्षक चतुर्भुज बोहराले भौतिक पूर्वाधारहरुमा आत्मानिर्भर हुँदै जनस्तरमा समर्पित गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्य अनुरुप आर.सी.सी. फ्रेम structure मा भूकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार उक्त भवनको निर्माण गरिएको बताउनुभयो ।


संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, पत्रकार  महासंघ कस्कीका अध्यक्ष, उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष लगायतले बोल्नुभएको थियो ।

पोखरा स्थित विभिन्न संघ संस्था, नागरिक समाज, भू.पु प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायिहरु, पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

FPUO 1

FPUO 2

FPUO 3

FPUO 4

FPUO 5

FPUO 6

FPUO 10