सडक सभ्यता अभिवृद्धि सम्बन्धी सरोकारवाला निकायको सम्मेलन सम्पन्न

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको एक दिवसीय सम्मेलन यही असार १३ गते पोखरामा पनि सम्पन्न भएको छ ।
दिन प्रतिदिन बढिरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यससंग सम्बद्ध सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया गरि सडक सुरक्षा सम्बन्धी आगामि रणनीतिक कार्ययोजना तयार पार्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि एंव जिल्ला स्थित अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको उक्त कार्यक्रम दुई सत्रमा सम्पन्न भएको छ ।
समापन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले सडक दुर्घटना न्यूनीकरण गर्न यसका सरोकारवाला निकायहरु बिच घनिभुत समन्वय आवश्यक रहने बताउँदै गण्डकी प्रदेश अन्तर्गत सडक सुरक्षाका लागि दुर्घटना न्यूनीकरण गर्न चाहिने जनशक्ति एंव उपकरणहरुको नीतिगत समाधान खोज्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
पानसमा दिप प्रज्जवलन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले समुद्घाटन गर्नुभएको पहिलो सत्रमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुलाई चार समूहमा विभाजन गरी सवारी दुर्घटनाको कारण, न्यूनीकरणका उपाय र आगामी कार्ययोजनाका विषयमा व्यापक छलफल एंव प्रस्तुतीकरणहरु भएका थिए ।
उक्त छलफल एंव अन्तरक्रियाबाट आएका निष्कर्ष एंव सुझावहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले प्रमुख अतिथि तथा विषेश अतिथिहरु समक्ष प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आम जनमानसमा सामान्य सडक प्रयोग सम्बन्धी समेत चेतनाको कमि भएकाले सबै सरोकारवाला निकायहरुले जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई जोड दिन आवश्यक रहेको बताउनुभयो ।
साथै समुदाय प्रहरी साझेदारी अभियान बारे बोल्दै उहाँले उक्त अवधारणाले सवारी दुर्घटना न्यूनीकरणलाई मुख्य रुपमा सम्बोधन गर्ने भएकाले उक्त अवधारणा अन्तर्गत प्रदेश भरी नै आगामी दिनमा वृहत रुपमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु गरिने बताउनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र कुमार बस्यालले समग्र प्रदेश अन्तर्गत ट्राफिक प्रहरी परिचालन, सडक दुर्घटनाको अवस्था, दुर्घटना न्यूनीकरणमा प्रहरीले गरिरहेका गतिविधि साथै सरोकारवाला निकायको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक घनश्याम अर्याल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक हरि राज वाग्ले, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Traffic 4

Traffic 3

Traffic 1