स्थलगत अवलोकन भ्रमण सम्पन्न : पोखरा

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भई रहेको सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थीहरुले यही मंसिर ३ गते ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको स्थलगत अवलोकन भ्रमण साथै अन्तरक्रिया गर्नुभएको छ ।

स्थलगत भ्रमणका क्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका शिक्षार्थीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी र ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले सम्रग ४ नं. प्रदेश अन्तर्गत नेपाल प्रहरीको साङ्गठनिक संरचना, शान्ति सुरक्षाको अवस्था, अपराधिक अवस्था लगायत प्रहरी सेवा प्रवाहका विषयमा जानकारी गराउनुभएको छ ।

उक्त कार्यक्रमका अवसरमा सहभागिहरु प्रशिक्षार्थीहरुले प्रहरी सेवा प्रवाहका विषयमा राखेका जिज्ञाशाहरुलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी आम नागरिकका हरेक जोखिमहरुको न्यूनिकरणका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवैले सहकार्यमुलक कार्यसम्पादनमा जोडदिनु पर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रम पश्चात उक्त टोलीले ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरामा रहेको कमाण्ड सेन्टर साथै विभिन्न शाखाहरुको समेत अवलोकन गरेका छन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका सहायक रथी पदम बहादुर आङ्वो, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकास जंग कार्की,  ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्ट लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Army 3

Army 2

Army 1