वप्रका बैदाम कास्की: नव-निर्मित प्रहरी भवन उद्‍घाटन

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही कार्तिक १५ गते वडा प्रहरी कार्यालय वैदाम कास्कीको नव निर्मित प्रहरी ब्यारेक, मेष र थुनुवा कक्षको उद्‍घाटन गर्नुभएको छ ।

समाजमा शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्न अहोरात्र तल्लीन रहने नेपाल प्रहरीको भौतिक पूर्वाधारहरुको अभावलाई महशुस गर्दै आम नागरिकहरुको सक्रियतामा भवन निर्माण समिति गठन गरी विभिन्न सहयोगी हातहरुको माध्यमबाट सहयोग जुटाई उक्त प्रहरी भवन निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले भवन निर्माणका सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै अपराध नियन्त्रण गरी समृद्ध समाज निर्माणका लागि खटिने नेपाल प्रहरीका लागि आम नागरिकबाट हुने यस्ता सहयोगहरुले कार्य सम्पादनमा मनोबल बढाउन अतुलनिय भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय वैदाम कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले देशकै एक प्रमुख पर्यटकीय स्थल पोखराको सुरक्षा जिम्मेवारी पाएको वडा प्रहरी कार्यालय वैदाम कास्कीमा प्रहरी कर्मचारीका लागि उपयुक्त व्यारेक र मेश नभएको दयनिय अवस्थालाई मध्यनजर गर्दै उक्त भवन निर्माण कार्यको थालनी गरिएको बताउदै यसमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नु भएको थियो ।

उक्त भवन निर्माणका लागि स्थानिय समाजसेवीहरु पुन र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निवर्तमान अध्यक्ष भिम पराजुलीको नेतृत्वमा निर्माण समिति गठन गरिएको थियो । कार्यक्रममा प्रमुख अथिती प्रहरी नायव महानिरीक्षक दान सिहं बोहराले भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ती तथा प्रहरी कर्मचारीलाई कदर-पत्रले सम्मान गर्नुभएको छ ।

कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, ४ नं.प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, ४ नं. प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, विभिन्न सामुदायिक सेवा केन्द्रका प्रमुख एंव पदाधिकारी, आमा समूहका पदाधिकारी, नागरिक समाज, पर्यटन व्यवसायीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Baidam

bhaidam

bhaidam1

bhaidam2